बिर्तामोड । झापाको बिर्तामोडका स्थानीयबासी दुले चोरका कारण हैरान भएका छन्।
घरायसी सामान चोरका कारण उनीहरू हैरान भएका हुन्। घरका सामान चोर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ।
विभिन्न कम्पनीका ग्यास सिलिन्डर र टेलिभिजन चोरी गर्ने काममा संलग्न चारजना र चोरीका सामान किन्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्ता घरायसी सामान चोरी गरेको आरोपमा पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं ७ बस्ने २४ वर्षिय जग्गु भन्ने दिपेश खवास, बिर्तामोड वडा नं ३ वस्ने २८ वर्षिय टेकन भण्डारी, सोही वडाका १८ वर्षिय विष्णु भण्डारी र एक जना नाबालक रहेका छन्।
त्यस्तै चोरीको सामान किन्दा पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं ४ वस्ने २९ वर्षिय गोपाल चिमरिया, बिर्तामोड ३ बस्ने ३१ वर्षिय छोटु भन्ने मोहमद मिया, बिर्तामोड ४ सूर्योदय टोल बस्ने २८ वर्षिय विकी साह र सोही वडाका ४८ वर्षिय खगेन्द्र चापागाई रहेका छन्।
चोरी भएका सामानसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गत जेठ २९ गते राति बिर्तामोड २ का गंगा उप्रेतीको घरबाट वान्सा कम्पनीको ३२ इन्चको एउटा टि.भी. र कोशी कम्पनीको २ वटा ग्यास सिलिन्डर, असार ४ गते राति बिर्तामोड ४ का नारायण मुखियाको घरबाट सोनी कम्पनीको ३२ इन्चको एउटा टि.भी, असार ९ गते राति बिर्तामोड ४ का राजन वास्केको कटेरोबाट पाथीभरा कम्पनीको एउटा ग्याँस सिलिन्डरलगायत सामानहरु घर फोरेर चोरी भएको थियो।
प्रहरीले २ वटा टि.भी., २ वटा कोशी कम्पनीको ग्याँस सिलिन्डर र एउटा पाथिभरा कम्पनीको ग्याँस सिलिन्डर बरामद गरेको छ।