काठमाण्डौ । आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) अन्तर्गतका प्राविधिकहरू काममा फर्किने भएका छन् ।
आइतबार प्राधिकरण र प्राविधिकहरूबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरू काममा फर्किने भएका हुन् ।
प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुङ्ग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरूले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरू उपलब्ध गराउने सहमति भएको छ ।
प्राविधिकहरूले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनादेखि नै नियमअनुसार उपलब्ध गराइने भएको छ ।
सहमति भएसँगै प्राविधिकहरू काममा परिचालित हुने र रोकिएको निजी आवासको सिफारिस गरेर तत्काल किस्ता पाउने गरी काम गर्ने तथा आउँदो कात्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमका लागि निवेदन हाल्न सक्ने लक्ष्यका साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।