काठमाडौं । दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए ।
सन्तोषीले उक्त दिन आफूलाई बस्ने–खाने व्यवस्था नभएको बताएकी थिइन् ।
‘सुरेशले उनलाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए । बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिन्छ,’ एसएसपी चन्द्रकुवेर खापुङले भने,‘हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारेछन्।’
पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे । हत्या पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए ।
प्रहरीले उनलाई काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।