बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
बुधवार झापा उद्योग सङ्घको सभा हलमा सुरु भएको आठौँ नगर सभामा उपप्रमुख चन्द्रमाया श्रेष्ठले सो बजेट प्रस्तुत गरेकी हुन्।
नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगर सभामा प्रस्तुत बजेट अनुसार पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार र वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेट अनुसार नगरपालिकाका गौरवका आयोजनाहरू र प्रदेशकै पहिलो साइन्स सिटी, कमलधाम पर्यटकीय स्थलजस्ता महत्त्वाकाङ्क्षी योजनाहरूलाई विशेष प्राथमिकता दिएको छ।
नगरले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, पर्यटन, उद्योग, लापोन्मूख आदिवासी जनजातिको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ।