बिर्तामोड । प्रदेश १ सरकारले झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरमा रहेका खाली जग्गामा संग्रहालय बनाउने भएको छ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै साबिकका क्याम्प रहेका ठाउँमा बहुजातीय पहिचान र संस्कृति झल्किने संग्रहालय बनाउने घोषणा गरेको हो।
झापाका गोल्धाप, टिमाइ र खुदुनाबारीका शिविर यसअघि नै खाली भइसकेका छन्। अधिकांश भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिका, अस्ट्रेलियालगायत विभिन्न युरोपेली मुलुकहरूमा पुनर्स्थापित भएपछि ती शिविर खाली भएका हुन्।
ती शिविरहरूमा बसोबास गर्ने केही शरणार्थीलाई दमकको बेल्डाँगी र मोरङको शनिश्चरे शिविर स्थानान्तरण गरिसकिएको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ लिम्बूले झापा र मोरङमा रहेका शिविरहरूमा संग्रहालय स्थापना गर्ने घोषणा गरेका हुन्।
बजेट प्रस्तुत गर्दै उनले भने, ‘झापा र मोरङका साबिकका भुटानी शरणार्थी क्याम्प रहेको स्थानमा सबै जनजाति, भाषा, धर्म, लिपी र समुदायको परम्परा झल्किने बहुजातीय पहिचान र संस्कृतिमा आधारित संग्रहालय स्थापना गर्ने कार्य अगाडि बढाइनेछ।’