काठमाण्डौ । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद्मीको भनाई छ ।
मौसमविद्का अनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ ।
यस्तै ‘तौ ते’ नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।
आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक–दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताए । यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।
‘तौ ते’ समुद्री आँधीका कारण भारतको केरलामा दुई जनाको ज्यान गएको छ । गुजरात, महाराष्ट्र, केरलासँगै तमिलनाडुमा यो आँधीको असर पर्ने त्यहाँको मौसम विभागले जनाएको छ ।
यी राज्यमा उच्च सतर्कता पनि अपनाइएको छ । तमिलनाडुमा ठूलो वर्षाको पनि अनुमान गरिएको छ ।