विर्तामोड । सांसद गायब भएपछि स्थगित भएको गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने भएको छ ।
आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बैठक बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जंग केसीले जानकारी दिए ।
‘आजको बैठकले कोरोना संक्रमित हुनुभएका मुख्यमन्त्री र माननीयहरुको स्वास्थ्य लाभको कामना गर्ने र वैशाख २७ गते विहान ११ बजे बैठक डाक्ने निर्णय गरेको छ,’खबरमञ्चसँगको कुराकानीमा सूचना अधिकारी केसीले भने ।
यसबाहेक बैठकमा प्रक्रियामा रहेको अविश्वास प्रस्तावमाथिको कारवाही पनि अगाडि बढाउनेसम्बन्धमा छलफल भएको थियो । सभामुखले सोहि दिन अविश्वास प्रस्तावको मतदान अगाडि बढाउने वा नबढाउनेबारे दलहरुसँग छलफल गरेपनि निर्णय भने नभएको केसीले बताए । ‘अनौपचारिक छलफल भएको छ, निर्णयचैं दुईटा मात्र भएको हो । अब मतदान हुने नहुने सभामुखले सोही दिन भनेबमोजिम कार्यसूची तयार हुनेछ,’ केसीले भने ।