काठमाडाै । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा निर्माण भएको एकीकृत नमुना बस्ती स्थानीय भूकम्पपीडितका लागि हस्तान्तरण गरिएको छ ।

कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको बस्ती राष्ट्रपति विद्यावेदी भण्डारीबाट हस्तानतरण गरिएको हो ।
राष्ट्रपति भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती व्यवस्थापन समितिका प्रमुख रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् ।
३५ रोपनी जगामा बनेको भवन निर्माणका लागि पाँच करोड १४ लाख ४९ हजार १ सय ८७ रुपैयाँ लागेको धुर्मुसले जानकारी गराए । बस्ती निर्माणका लागि स्वदेश तथा विदेशबाट छ करोड १७ लाख रकम संकलन भएको उनको भनाई छ ।
बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी निर्माण गरिएको हो ।