काठमाडौं । काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मलेन आजदेखि सुरु भएको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा सुरु भएको उक्त सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गरेका छन्। सम्मेलनलाई सार्वजनिक रूपमा पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्दै छन् ।
राजासहितको हिन्दु राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रम मात्र हुने छ । शुक्रबार र शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन गर्नेछ ।
समितिकी सचिव अस्मिता भण्डारीले सम्मेलन हिन्दु धर्मावलम्बीको भीड देखाउनमात्र नभई सैद्धान्तिक लडाइँका लागि विशेष प्रस्ताव पास गर्नका लागि पनि भएको बताइन् । उनले भनिन्, ‘महासंघको यो अन्तर्राष्ट्रियस्तरको विराट सम्मेलन राजासहितको हिन्दु अधिराज्य बनाउने अभीष्टले पनि आयोजना गरिएको हो ।’
सम्मेलनमा थाइल्यान्ड, मौरिसस, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, क्यानाडा, बेलायतलगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी भएको भण्डारीले बताइन् ।