काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा पूर्व निर्धारित मिति अनुसार भोलि बिहीबार नै हुने भएको छ ।
विशेष साधारणसभा रोक्न माग गर्दै असन्तुष्ट पक्षले दायर गरेको रिटमा पाटन उच्च अदालतले सुनुवाई गर्दै साधारणसभा रोक्न यसअघि दिएको आदेशलाई निरन्तरता दिन नपर्ने भनेपछि साधारणसभा बिहीबार हुन लागेको हो।
मंगलबार अदालतले रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै साधारणसभाको काम रोक्न आदेश दिएको थियो । तर बुधबार अदालतले पक्ष विपक्ष दुवै तर्फकासँग गरेको छलफल पछि मंगलबारकोे आदेशलाई कायम राख्न नपर्ने भनेकाले साधारणसभा बिहीबार हुने महासंघका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिएका छन् ।
विशेष साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्न पाउने गरी विधान संशोधन गर्ने तयारी छ । महासंघको बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने गरी विधान संशोधन गर्नका लागि साधारणसभा बोलाएपछि महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले त्यसलाई रोक्न माग गर्दै पाटन उच्च अदालतलमा रिट दायर गरेका थिए ।