जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको लागि तयारी सुरु गरिएको छ । कात्तिक १९ गतेको लागि तय भएको राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणमा भव्य स्वागत एवं नागरिक अभिनन्दन् गर्न तयारी सुरु गरिएको हो ।
तयारीका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाईंले सरोकारवाला पक्षसँग छलफल र विचार विमर्श गर्नुभएका छन् । उनले राजनितीक दल, बुद्धिजिवी नागरिक समाज, पत्रकार, व्यापारी, कर्मचारी लगायतका पक्षसँग छुट्टा छुट्टै छलफल गरी मुखर्जीको भ्रमण सफल कसरी बनाउने भन्ने बारेमा कुरा भएको बताए ।
राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमण बारेमा जानकारी गराउन बुधबार गरिएको पत्रकार सम्मेलनमा चापागाईंले सरकारबाट औपचारिक पत्र नआए पनि राष्ट्रपति मुखर्जी जनकपुर भ्रमण गर्ने पक्का पक्की भइसकेकाले त्यसको लागि तयारीमा लागेको बताए ।
मुखर्जीको भ्रमण गर्ने स्थान र सडकबाटोलाई सरसफाई गर्ने अभियान तीव्र पारिएको र मुखर्जीलाई जनकपुरमा स्वागत गर्न जनकपुरका बासिन्दाले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ ।
राष्ट्रपति मुखर्जीको भ्रमणको मुख्य केन्द्रविन्दु जानकी मन्दिर दर्शन रहेकोले जानकी मन्दिरमा नै नागरिक अभिनन्दन गर्ने तयारीमा लागेको चपागाईंले जानकारी गराए । भ्रमण हुने स्थलहरुमा सरसफाइ, ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था, जानकी मन्दिरको सरसफाईसँगै सजावट लगायत विषयमा छलफल र निर्णयहरु गर्न थालिएको छ ।