
काठमाडौं । छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको स्पेसल अपरेसन ग्रुपबीच सोमवार संयुक्त तालिम/अभ्यास ‘टेक नेल १७-०१’ सञ्चालन भएको छ ।
उक्त तालिम विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा आधारित रही श्री महावीर गण (रेञ्जर) छाउनी, रसुवा जिल्लाको लाङटाङ र कास्की जिल्लाको पोखरा इलाकामा २०७३ कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।
सो संयुक्त तालिमको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टोली मिति २०७३ असोज २७ गते आवश्यक तालिम सामग्रीसहित नेपाल आइपुगेका हुन् । यस प्रकारको संयुक्त तालिम/अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आइरहेको छ ।
यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनहरूसँग सहकार्य गरी विपद् व्यवस्थापन गर्ने क्षमतामा समेत अभिवृद्धि हुन जाने देखिएको छ ।