इलाम । इलामको माईखोलामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई एकएक लाखका दरले राहत उपलब्ध गराइने भएको छ। ![]()
जिल्लास्तरीय दैवीप्रकोप उद्धार समिति इलामले प्रति मृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले डुङ्गा सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ।
त्यस्तै गत असोज २५ गते विजयादशमीको दिन महमाई–३ मा पहिरोसँगै झरेको रूखले किचेर मृत्यु भएका दुई जनाको परिवारलाई पनि एकएक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिए।
डुङ्गा दुर्घटनामा हराएकामध्ये आठ जनाको शव फेला परिसकेको छ र सात जनाको सनाखत भइसकेको छ । घटनास्थलमा गरिएको प्रारम्भिक अध्ययनले डुङ्गामा ४२ जना यात्रु चढेको पुष्टि भएको र यात्रुबाहेक केही मोटरसाइकल र सामान पनि रहेकाले ढुङ्गा धेरै भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए।
डुङ्गाका यात्रुले लगाउने १५ थान लाइफ ज्याकेट र खोला तर्न मिल्ने गाडीको ट्युब डुङ्गा सञ्चालकहरूलाई उपलब्ध गराइएको छ।
जिविस र गाविसको पहलमा सुरक्षा निकायबाट प्राप्त भएका ती लाइफ ज्याकेट र ट्युब उपलब्ध गराइएको हो। आगामी दिनमा हरेक यात्रुले लाइफ ज्याकेट लगाएरमात्र डुङ्गामा सवार गर्न र गराउन पनि निर्देशन गरिएको छ।