मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि भाडा फिर्ता गराएको छ । दसैँ मानेर काठमाडौं फर्किंदै गरेका यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि प्रशासनले अनुगमन तिव्र पारेको थियो ।
सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयका प्रतिनिधिहरु मिलेर सुमोका काउन्टरहरुमा अनुगमन गरेका थिए ।
प्रतिनिधिहरुले काठमाडौंका लागि हिँडेको सुमोमा अनुगमन गरी बढी तिरिएको भाडा फिर्ता गराएको जिल्ला प्रसाशन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विष्णुकुमार महतले जानकारी दिए ।
हेटौडाको थानाभर्याङमा गरिएको अनुगमनका क्रममा काठमाडौं जाँदै गरेको बा २ ख ८४१२ नम्बरको बसका यात्रुसँग बढी लिएको भाडा २ सय ३० रुपैयाँका दरले ३२ जना यात्रुलाई फिर्ता गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको सिस्नेरीबाट पनि टाटासुमोहरुले बढी लिएको भाडा यात्रुलाई फिर्ता गरिएको छ ।
ना १ ज ३४७६ नम्बरको टाटा सुमोले पनि यात्रुबाट तोकिएको भन्दा बढी लिएको भाडा ३ सय रुपैयाँका दरले दश जनालाई फिर्ता गराएको प्रहरीले जनाएको छ ।
हेटौंडादेखि काठमाडौंसम्म तोकिएको भाडा ४ सय रुपैयाँ लाग्ने भए पनि यातायात व्यवसायीले सात सय रुपैयाँसम्म लिने गरेका छन् । २९ वटा टाटा सुमोलाई सोमबार बिहान रोकेर अनुगमन गर्ने क्रममा एउटा सुमोमा चढेका यात्रुहरुले बढी भाडा लिएको गुनासो गरेपछी बढी भाडा लिएकासँग रकम लिएर फिर्ता गरिएको प्रशाशकीय अधिकृत महतले जानकारी दिए ।
हेटौडाको सामरी पुलमा जिल्ला प्रशासनले अनुगमन सुरु गरेको थाहा पाएका टाटासुमोले यात्रुलाई भाडा बढी लिएको भन्ने खबर गरे बिच बाटोमा नै छोडिदिने धम्की दिएका थिए । त्यो धम्कीपछी यात्रुहरुले उनिहरुले तोकीएको भन्दा बढी भाडा असुल गर्दा पनि प्रहरी समक्ष पहिलेको दरमानै भाडा तिरेको भन्न बाध्य भएको यात्रुहरुले बताएका छन् ।