कञ्चनपुर । कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर विरोध जनाएका छन् । दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन् ।

“विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी राखेर पकाइएको भारतीय केरा भित्र्याउने कार्यको विरोध गरेका हौँ,” कैलालीका केरा व्यवसायी लक्षीराम आचार्यले भने । कैलालीका केरा खेतीमा संलग्न कृषक आचार्यले युवा कृषकले जिल्लामै पुग्ने गरी करोडौँ रकम खर्चेर केरा उत्पादन गरे पनि भन्सारमा रहेको सरकारी निकायले निर्वाध परीक्षण नगरिकनै भारतीय केरा भित्र्याउन दिँदा यहाँका कृषकको लगानी जोखिममा परेको बताए।
“भारतबाट आउने केरा प्रयोगशालामा परीक्षण गरेरमात्रै आयात हुनुपर्ने व्यवस्था भएपनि प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका कर्मचारीले अाँँखाले हेरेर प्रमाणपत्र दिने भएकाले भारतीय केरा व्यवसायीलाई सहज भएको छ,” उनले भने ,“अखाद्य केराको परीक्षण गर्ने व्यवस्था नहुँदासम्म भित्र्याउन दिँदैनौँ, यसका लागि थप आन्दोलनका कार्यक्रम अगाडि बढाइन्छ ।”