मोरङ । विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । देशकै पहिलो जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकेको हुँदा मिल बन्द गरिएको हो ।

विल्सन इन्टरनेसनलका नेपाल प्रतिनिधि श्याम पौडेलका अनुसार लामो समयदेखि बन्द हुँदै चल्दै आएको विराटनगर जुट मिल साढे तीन वर्षअघि ९ भारतीय कम्पनी विल्सन इन्टरनेसनलले वार्षिक रु एक करोड ३५ लाख सरकारलाई दिनेगरी २५ वर्षका लागि भाडामा लिएको थियो । सो कम्पनीले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिन सञ्चालक समितिलाई आग्रह गर्दा जडान नगरिदिएपछि बन्द भएको हो ।
मिल सञ्चालक समिति र भाडेदारबीचको सम्झौतापत्रमा सञ्चालक समितिले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिने भन्ने प्रष्ट रूपमा उल्लेख गरेको थियो । तर बन्द भएको २५ महिना बितिसक्दासमेत लाइन जडान हुन सकेको छैन ।
मिल सञ्चालक समितिका अध्यक्ष नीलहरि काफ्लेले विद्युत्को समस्याका कारण मिल बन्द नभएको बताए ।