हेटौडा । पूर्वपश्चिम राजमार्गको मकवानपुरस्थित मनहरी गाविस–३ कत्लेखोलामा आइतबार बिहान एक आपसमा यात्रुवाहक बस ठोक्किदा ४१ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको बस र काँकडभिट्टाबाट कैलालीतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको बस बिहान साढे ३ बजे ठोक्किदा यात्रुहरु घाइते भएका हुन् ।
घाइतेहरुको मनहरीको प्राथमिक स्वास्थ्य केन्द्र र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कैलालीतर्फ गइरहेको बसमा २ जना च्यापिएका थिए । तर उनीहरुको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक मनजित कुँवरले बताए । घाइतेहरुमध्ये २४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने १७ जनालाई उपचारको निम्ति भरतपुर लगिएको छ । दुवै बसका चालकहरु घाइते भएका छन ।
तत्कालै इप्रका मनहरीका प्रहरी, एक नम्वर जगदल गणका सैनिक र कत्लेखोलास्थित सशस्त्र प्रहरीले घाइतेहरुलाई बसबाट झिकेर उपचारका निम्ति अस्पताल पठाएका थिए भने सडकबाट दुवै बस पन्छाएर राजमार्ग अवरोध हटाएका थिए ।
दुवै बस तीव्रगतिमा रहेकाले मोडमा ठोकिएको हो ।