गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन)को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन्।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुगेका प्रधानमन्त्रीले नमूना बस्ती शिलान्यास कार्यक्रममा नमुना बस्तीले देशलाई नयाँ सन्देश दिने बताएका छन्। उनले भने, ‘यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो। यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ। यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ। शेष घलेलगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ।’ उनले अगाडि भने,’ अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ । ४४४ घर यहाँ बन्नेछन्। बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ।’
प्रधानमन्त्री प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता र सहिद परिवारलाई निर्देशन दिँदै विकास निर्माण र समृद्धिका लागि जनतासँग मिलेर काम गर्न आग्रह गरे।
एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको भनाइले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे। अध्यक्ष घलेले लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने बताएका छन्।
नमूना बस्तीमा संघले ४४४ घर आधुनिक घर निर्माण गर्ने जानकारी दिँदै अध्यक्ष घलेले उक्त बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरु रहने बताए।
घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने, १८ हेक्टर जमिन निर्माण स्वीकृति लिइएको र ३० देखि ३५ लाखको लागत लाग्ने अनुमान गरिएको छ।