रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका छन् ।
इलाममा १४ जना वन अभिभावकलाई सात वटा, पाँचथरमा १२ जनालाई छ वटा र ताप्लेजुङमा २८ जना वन अभिभावकलाई १४ वटा मोबाइल वितरण गरिएको रेडपाण्डा नेटवर्कका सुमित गौतमले बताउनुभयो । मोबाइल एप्लिकेसन प्रयोगका लागि भने रेडपाण्डा पाइने जङ्गल जानुपर्ने हुन्छ । एप्लिकेसनसँगै जिपिएसको समेत प्रयोग हुन थालेको छ ।
वन अभिभावक पनि मोबाइलबाट रेडपाण्डाको अनुगमन हुने भएपछि चोरी निकासी नियन्त्रण गर्न सकिनेमा ढुक्क भएका छन् ।
रेडपाण्डा संरक्षणका लागि इलाममा उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले नियमित अनुगमन र रेखदेख गरिरहेका छन् । रेडपाण्डा नेटवर्क नेपालबाट सन् २०११ देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण परियोजना सञ्चालन भइरहेको छ । यसअघि पनि रेडपाण्डा संरक्षणका लागि क्यामेरा जडान गरिएको थियो । तर तस्करले क्यामेरा फुटाएर रेडपाण्डा तस्करी गर्न थालेपछि एप्लिकेसनको प्रयोग थालिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कृष्ण राईले बताए । इलाम, पाँचथर र ताप्लेजुङमा करिब अढाई सय भन्दा बढीको सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।