झापा । साहित्यकार कृष्ण धरावासी र पत्रकार कुमार भट्टाराईकी दिवंगत माताको नाममा स्थापना गरिएको आमा सम्मान कार्यक्रमबाट यस बर्ष किरण तिम्सिना सम्मानित हुने भएकी छिन् ।

साहित्यकार धरावासी र पत्रकार भट्टाराईले दिवंगत आमा अम्बिका भट्टराईको स्मृतिमा प्रदान गर्दै आएको नगद ११ हजार राशीको आमा सम्मानबाट झापा गरामनी –३ की किरण तिम्सिना सम्मानित हुने भएकी हुन् ।
सो पुरस्कार अम्बिका प्रतिष्ठान झापाले हरेक बर्ष दशैंको अष्टमीका दिन वितरण गर्दै आएको छ । श्रीमान्को असामयिक निधन पश्चात् दुःखकष्ट सहेर आफ्ना छोरा छोरीको जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले उनलाई प्रोत्साहन स्वरुप सम्मान प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष समेत रहेका भट्टराइले बताए ।
यसअघि सो सम्मानबाट ०६७ मा गरामनीकी रेनुका रसाइली, ०६९ मा अर्जुनधारा– २ निवासी पार्वतीदेवी सुबेदी, ०७० सालमा अनारमनी निवासी विष्णुमाया गौतम, २०७१ मा विर्तामोड नपा– २, चारपाने निवासी शशिकला राय र २०७२ सालमा भद्रपुर– ६, चन्द्रगढी निवासी चित्रकला कोइराला सम्मानित भइसकेका छन् ।