धादिङ – जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ कम्तिमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले अहिलेसम्म १३ जनाको शव निकालिएको जानकारी दिए। सुवेदीका अनुसार चाडपर्वको बेला यात्रु बढी भएर छतमा समेत यात्रु चढाएको हुनाले दुर्घटना भएको हुनसक्छ।
मंगलबार बिहान धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११ः३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ । बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले जानकारी दिए । पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो ।
घटनास्थलमा हाल प्रहरी पुगिसकेको छ । दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार गरेको स्थानीय उद्दारकर्ताहरुले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ ।