
काठमाडौँ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी एयर बस किन्ने भएको छ । निगमको सञ्चालक समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निगमका प्रमुख कार्यकारी अधिकृत सुगतरत्न कंसाकारले आफ्नो फेसबुक स्ट्याटस लेख्दै निगमको इतिहासमा पहिलोपटक यो काम हुन लागेको बताएका छन् । निगमले किन्न खोजेको विमान ए ३३०–२०० हो, यो विमानको नेपाली मूल्य १२ अर्ब रुपैयाँ पर्ने अनुमान निगमको छ । प्रमुख कार्यकारी अधिकृत कंसाकारका अनुसार, एकवर्षभित्रमा पहिलो विमान सञ्चालनमा ल्याउने तयारीमा निगम लागेको छ ।
सरकारले २५ अर्ब रुपैयाँको स्वीकृति दिएपछि निगमले दुईवटा विमान किन्ने निर्णय गरेको उनले बताए । विमानमा दुईसय पचासदेखि दुई सय सत्तरी सिट क्षमताको हुनेछ । यो एयर बस फ्रान्सले उत्पादन गर्दै आएको छ । एयरबस डटकमका अनुसार, अगस्ट २०१६ सम्ममा ६४४ वटा अर्डर भएका छन् भने ५९३ वटा डेलिभर भइसकेको छ । थप ५८५ वटा विमान बन्दैछन् ।
फ्रान्सको एयरबस किन्ने निगमको तयारीपछि अमेरिकी बोइङ कम्पनीका एजेन्टहरु भने तिल्मिलाएका छन् । राम्रो कमिसन हुने भएकाले यसमा ठूलौ राजनीतिक गिरोह पनि लागेको देखिएको छ । यद्यपि सरकारले फ्रान्समै निर्मित एयरबस किन्ने तयारी गरेकाले यसले सार्थकता पाए निगमले फेरि संसारभर आफ्नो सेवा विस्तार गर्नेछ भने यसका केही पाइलटहरु पनि तयार पारेको निगमको दाबी छ ।