चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको फैसला आइतबार हुँदैछ । चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले आइतबार अन्तिम पेशी तोकिएको जानकारी दिए ।
उहाँका अनुसार यस घटनाका वादी तथा प्रतिवादीतर्फका वकिलको मुद्दा पेशी नहटाए तोकिएकै दिन आइतबार फैसला हुनेछ ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनशनमा बसेकी गंगामायाले गएको भदौ २७ गते अनशन तोडेकी थिइन् । चितवन जिल्ला अदालतको श्रेष्तेदारसहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेको थियो ।
२०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा हत्या भएको थियो । नन्दप्रसाद अधिकारीले आफ्नो छोरोको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाइ नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो । यस घटनामा संलग्न भनिएका दुईजना अझै सम्पर्कमा आएका छैनन् ।