विर्तामाेड । प्रदेश १ सरकारले उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका ३ र चौदण्डी नगरपालिका ५ पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।
उदयपुर जिल्लामा मात्र काेराेना संक्रमितकाे संख्या २४ पुगेपछि प्रदेश सरकारले यस्ताे निर्णय गरेकाे हाे ।
प्रदेश सुरक्षा समन्वय समितिको बैठकले उदयपुरकाे त्रियुगा नगरपालिकास्थित भुल्केमा काेराेना संक्रमितकाे संख्या बढ्न थालेपछि सिल गरेर जिल्ला आवतजावत गर्ने सबै नाका पनि बन्द गर्ने निर्णय गरेकाे प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खबरमञ्चलाई जानकारी दिए ।
यससँगै उक्त जिल्लामानै आवतजावत पूर्ण रुपमा बन्द गर्ने गरी जिल्ला प्रशासन उदयपुरलाई निर्देशन दिएको कार्कीले बताए ।
अब प्रदेश सरकारले भुल्केलगायतका क्षेत्र रहेकाे त्रियुगा वडा नं ३ र चौडदण्डी वडा नं ५ सहित मस्जिदलगायत धार्मिक गतिबिधि हुने क्षेत्रहरुलाई उच्च सुरक्षा निगरानीमा राखिने भएको छ ।
यसबाहेक साे क्षेत्रमा काेराेना परिक्षणलाई पनि व्यापक बनाउने प्रदेश सरकारले रणनीति अख्तियार गरेकाे कार्कीले बताए ।
मंगलबारमात्र भुल्के क्षेत्रका थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यसअघि त्यहाँकाे एक मस्जिदमा बसेका १२ जनामा वैशाख ५ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । जसमा ११ जना भारतीय र एक नेपाली रहेका थिए ।
त्यसकाे भाेलिपल्ट अर्थात वैशाख ६ गते पनि जमातिहरुकै समूहका अर्का एकजनमा पनि काेराेना पुष्टि भएकाे थियाे । जमातीमा कोरोना संक्रमण भएको वैशाख ५ गते पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसबाहेक पनि त्यस क्षेत्रका सयभन्दा बढीकाे नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा ल्याइएकाे छ । देशभर काेराेना संक्रमितकाे संख्या ४२ पुगेकाे छ । तर त्यसकाे आधा भन्दा बढी भने उदयपुरकाे भुल्केकै रहेका छन् । त्यसैले यतिबेला काेराेना संक्रमण उदयपुरकाे भुल्केबाट समुदायस्तरमा फैलनसक्ने खतरा बढेकाे भन्दै सिल गरिएकाे बताइएकाे छ ।