काठमाडौ । सरकारले २०५७ सालदेखि बन्द हेटौडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने तयारी थालेको छ।

उद्योग सञ्चालनमा ल्याउनको लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न सरकारले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यिय समिति गरेको छ। समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य छन्।
समितिले उद्योग पुनः संचालनका लागि उपयुक्त मोडालिटी, प्रकृया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता समेत अध्ययन गरेर सरकारलाई सिफारिस गर्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए।
‘उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरिएको छ,यो समितिको प्रतिवेदनको अधारमा मन्त्रालय अघि बढ्छ।’, जोशीले भने। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ साल देखि बन्द छ। २०३५/३६ देखि व्यवसायिक रुपमा उत्पादन सुरु गरेको यस उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ।