झापा । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण र नियन्त्रणका लागि प्रदेश १ सरकारकाे सहयाेगमा नेपाली सेनाले क्वारेन्टाइन स्थल निर्माण गरेको छ ।
मोरङको मिक्लाजुङ– ४ हात्तीमारामा कोरोना संक्रमणको आशंका गरिएका विरामीलाई राख्ने क्वारेन्टाइनस्थल निर्माण गरिएको हो ।
जसअनुसार २ सय जना विरामीलाई राख्न सकिने गरी एकसय वटा टेन्ट तयार पारिएको नेपाली सेना पूर्वी पृतना मूख्यालय इटहरीका सेनानी नारायण खड्काले खबरमञ्चलाई जानकारी दिए ।

प्रदेश सरकारले गएकाे फागुन २९ गते कोरोना संक्रमणको आशंका लागेका विरामीलाई राख्न मोरङको मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय गरेको थियो । सरकारकाे सोही निर्णय अनुसार नेपाली सेनाको मिक्लाजुङ ४ टाँडीस्थित श्री सूर्यदल गण परिसरको ४२ विगाहा जमिनमा प्रदेशस्तरीय क्वारेन्टाइन निर्माण गरिएको हो ।
सेनानी खड्काका अनुसार प्रत्येक टेन्टमा दुई जना राखिनेछ भने ती दुई जनाले पनि एक अर्काका सामान छुन नपर्ने गरी व्यवस्था मिलाइएको छ । यसबाहेक हरेक ४ जना बराबर एउटा शौचलयको व्यवस्था गरिएको छ।

यद्दपी टेन्ट स्थापनाको काम सम्पन्न भएपनि शौचालय, भान्सा, प्राविधिक सामान राख्ने र चिकित्सकको टोली बस्ने व्यवस्था भने भइसकेको छैन । त्यसका लागि सेनाले प्रदेश सरकारले ल्याउने निर्माण सामाग्री कुरिरहेको छ ।