झापा । युवा सञ्चार अभियान झापाले बाल दिवसको अवसरमा बिर्तामोडस्थित तारा नमस्ते बाल आश्रममा रहेका ११ जना बालबालिकालाई फलफुल तथा विभिन्न खाद्यन्न सामग्री वितरण गरेको छ । 
झापालाई बालश्रम मृक्त जिल्ला बनाउनका साथै बालमैत्री जिल्ला बनाउने उद्देश्यले गठन भएको युवा सञ्चारकर्मीहरुको संस्थाले बालबालिकासंग अन्तरक्रिया समेत गरेको थियो । २०६८ सालमा बिर्तामोडका उज्जव पोख्रेलले स्थापना गरेको बाल आश्रममा चन्द्र खतिवडा कोइराला र यसोदा चापागाईले अनाथ बालबालिकाहरुको हेरचाहार गरिरहेका छन् ।
स्वीजरल्याण्डमा रहेका पोख्रेललले अनाथ बालबालिकाहरुको पालन पोषण गरिरहेको आश्रममा रहेकी कोइरालाले जानकारी दिइन् । झापा सहित इलाम, पाँचथर, ताप्लेजुङलगायतका अनाथ बालबालिकाहरु उक्त बाल आश्रममा रहेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले फेला पारेका बालबालिकालाई बाल आश्रममले संरक्षण गरिरहेको छ ।
युवा सञ्चार अभियानका अध्यक्ष नरेन्द्र ढकालले फलफुल तथा खाद्य सामग्री बाल आश्रमकी कोइरालालाई हस्तान्तरण गरेका थिए । फलफुल वितरण कार्यक्रममा सञ्चारकर्मी रुपेश अधिकारी, खगेन्द्र घिमिरे, नविन पौडेल, दिपेन लावती, प्रकाश उप्रेतीलगायत अभियानमा संलग्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।