विराटनगर । बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)मंगलबार देखि सञ्चालन हुँदै छ ।
भारतले निर्माण गरेकाे साे चाैकी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । त्यसपछि नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार भिडियो कन्फ्रेन्समार्फत आइसीपी उद्घाटन गर्ने छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौं र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एउटै समयमा ‘स्वीच अन’ गरी आइसीपीको उद्घाटन गर्ने कार्यक्रम रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए।
विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा १ सय २९ बिघा क्षेत्रमा आइसीपी तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मा सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि मात्र सुरु भएको हो ।
भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले एक अर्ब १४ करोड भारतीय रुपैयाँमा आइसीपीको निर्माण ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम आइसीपीबाट सुरु भएपछि विराटनगर रानीसँग जोडिएकाे जोगबनी बजार पनि सहज हुनेछ । सवारीको चाप स्वतः घट्ने अपेक्षा गरिएको छ ।
जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । आइसीपी भारत सरकारले निर्माण गरिदिएको हो । रासस