दमक । शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयका नेपाल प्रतिनिधि केभिन एलनले शरणार्थी समस्या समाधानका लागि तीनवटा बाटामध्ये एउटा बाटोको काम सकिएपछि भुटान फर्कने वा नेपालमै रहने भन्ने दुईवटा बाटा खोल्न सहज हुने बताएका छन् ।
उनले सन् २०१६ को अन्तसम्ममा युएनएचसीआरले भुटानी शरणार्थीको तेस्रो मुलुक पुनःस्थापना कार्यक्रम बन्द गर्ने जानकारी दिए ।
केभिनले मंगलबार युएनएचसीआरको दमक कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै भने, ‘पहिला हामीले उनीहरुको धारणा बुझ्छौं अनिमात्र हामीलाई नेपाल तथा भुटान सरकारसंग कुरा अगाडि बढाउन सजिलो हुन्छ ।’
तेस्रो मुलुक पुनःस्थापना कार्यक्रममा अहिलेसम्म अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायत मुलुकहरुमा एक लाख पाँच हजारभन्दा बढी शरणार्थी पुनःस्थापित भइसकेका छन् ।
युएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुनःस्थापना भइ शिविरमा रहने शरणार्थीहरुको संख्या करीब १० हजार रहनेछ । शिविरमा रहनेहरुमा बुढापाका तथा नेपाली समुदायमा विहावारी भएकाहरु रहने युएनएचसीआरले जानकारी दिएको छ ।
युएनएचसीआरका नेपाल प्रतिनिधि केभिनले भुटानी शरणार्थीलाई कुनै एउटामात्र विकल्प खोज्न बाध्य पार्ने नीति युएनएचसीआरको नरहेको बताए । उनले भने, ‘अबका विकल्पमा शरणार्थीले रोज्न पाउनुपर्छ ।’ तर स्वदेश फिर्तीको विकल्पलाई पर सारेर युएनएचसीआरले तेस्रो मुलुक पुनःस्थापनाको विकल्प मात्र अगाडि ल्याएको भन्दै शरणार्थी समुदाय रुस्ट बनेका थिए ।