दमक । भुटानी शरणार्थी स्वदेश फिर्ती अभियानका अभियन्ता डाक्टर भम्पा राईले नेपालका प्रधानमन्त्री पुष्पकमल दहालले भारत भ्रमणको क्रममा भुटानीहरुको स्वदेश फिर्तीको मुद्धालाई उठाउनु पर्ने बताएका छन् ।
तत्कालिन समयमा भुटानबाट नेपालीभाषी भूटानीहरुलाई नेपाल शरणार्थी बनाउन भारतको ठूलो षडयन्त्र रहेको भन्दै उनले स्वदेश फिर्तीको मुद्धालाई भ्रमणका क्रममा उठाईदिन आग्रह गरे ।
मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै राईले भारतको समन्वयनमा मात्र आफूहरु स्वदेश फर्कनसक्ने भएकाले शरणार्थीको समस्यामा नेपाल सरकारले पहल गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फिर्तीले प्राथमिकता पाउनु पर्ने बताउदैँ उनले भने, ‘स्वदेश फिर्तीको आसामा पुर्नवास नभई बसेका झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका करिब १४ हजार शरणार्थीलाई अब तत्काल भुटान फर्काईनु पर्छ ’ ।
उनका अनुसार घर फर्कने आशा मरिसकेपछि निरुत्साहित भएर करिब १ लाख बढी शरणार्थी तेश्रो मुलुक पुनर्वास भएको बताए । पुर्नवासले शरणार्थीमा ठूलो विचलन ल्याएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार संगठनका केन्द्रिय महासचिव डाक्टर केपी सुवेदीले शरणार्थी पनि मान्छे भएका कारण शरणार्थीले पनि आफ्नो इच्छा अनुसार अफ्नै देशमा बस्न पाउनु पर्ने बताए । मानव अधिकारको रक्षाकालागि पनि भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गरिनु पर्ने उनको भनाई छ ।