भद्रपुर । मेची अञ्चलमा नक्कली सवारीचालक अनुमतिपत्र बनाउने गिरोहलाई प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ परेका ९ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोह आवद्ध छन् भने ५ जना नक्कली लाइसेन्स बोकेर सवारी चलाउने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए । उनीहरुलाई प्रहरीले विभिन्न मितिमा, विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्ने गिरोहका नाइके वास्तोला ड्राइभिङ्ग इस्टीच्युटका सञ्चालक झापा विर्तामोड ७ बस्ने ४३ बर्षिय खिलानाथ बास्तोला, गिरोहमै आवद्ध गरामनी ९ बस्ने २२ बर्षिय अनिल वास्कोटा, विर्तामोड ३ बस्ने ३२ विजय यादव, ४४ बर्षिय पूर्णप्रसाद श्रेष्ठ र गौरादह १३ बस्ने ३६ बर्षिय उमेशकुमार दास बैरागी रहेका छन् ।
त्यस्तै नक्कली लाइसेन्स बोक्ने पृथ्वीनगर ५ बस्ने ३२ बर्षिय यामकुमार महत, हल्दिवारी १ बस्ने २१ बर्षिय नविन आचार्य, भद्रपुर १५ बस्ने ४० बर्षिय कमिचन राजवंशी, हल्दिवारी १ बस्ने २७ बर्षिय सुनिल महतो र विर्तामोड ३ बस्ने ३२ बर्षिय विजय यादव रहेको डिएसपी शर्माले बताए । जिल्ला प्रहरीका अधिकृतको नेतृत्वमा खटिएको टोलीले गिरोहवाट खाली लाइसेन्स चार थान, नक्कली लाइसेन्स नौ थान,सरकारी छाप दुइ थान बरामद गरेको छ । प्रहरी कार्यालय झापाले गिरोहमा सम्लग्न व्यक्तिको थप खोजी कार्य तिव्र पारेको छ ।
पक्राउ परेकालाई मुलुकी ऐनको किर्ते कागजको महलले एक वर्ष देखि तिन वर्षसम्म कैद सजाय हुने डिएसपी शर्माले बताए ।