काँकरभिट्टा । भारतमा प्रतिबन्धित विषादी एल्डिकार्व नेपाली अदुवामा नरहेको प्रयोगशालाको रिपोर्टले पुस्टि गरेपछि नेपाली अदुवा शुक्रबारदेखि भारत निकासी हुन थालेको छ । नेपालकै बाटो हुँदै भारत निर्यात भएको चिनीयाँ अदुवामा उक्त प्रतिवन्धित विषादीको अवशेष फेला परेको भन्दै नेपाली अदुवामा पनि त्यस्ता घातक विषादी रहेको आशंका गरिएको भारतीय भन्सारका अधिकारीहरुले बताएका छन् । प्रयोगशालाको रिपोर्ट नआइन्जेलसम्म अदुवा आयातमा रोक लगाइएको उनीहरुले बताएका छन् ।
नेपाल हुँदै अवैध बाटोबाट भारत निकासी हुने चिनियाँ अदुवामा भारतमा प्रतिवन्धित विषादी एल्डिकार्व रहेको भन्दै नेपालमा उत्पादित अदुवामा पनि त्यस्तै विषादी हुनसक्ने आशंका गर्दै भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले नेपालको अदुवाको नमुना परीक्षणका गराउन आदेश दिएको भारतीय भन्सारका अधिकारीहरुले बताए ।
बैंगलोरको एउटा प्रयोगशालामा पठाइएको नेपालमा उत्पादित अदुवाको नमुना परीक्षणको रिपोर्ट नआइन्जेलसम्मका लागि नेपालमा उत्पादित अदुवा भारत निकासी गर्नका रोक लगाइएको पानीटेंकी भन्सार कार्यालयका अधिकारीहरुले जानकारी दिए ।
रेकर्डमा बोल्न नमानेका उनीहरुले बैंगलौरको प्रयोगशालाबाट शुक्रबार मात्र प्राप्त नेपाली अदुवा परीक्षणको रिपोर्ट देखाएका थिए । नेपालको अदुवामा विषादीको अवशेष नरहेको पाइएपछि शुक्रबारबाटै अदुवाको भारत निकासी फुकुवा भएको जानकारी उनीहरुले दिए । जस्को पुस्टि मेची भन्सार कार्यालय काँकरभिट्टाको अदुवा निर्यात तथ्यांकले गरेको छ । उक्त भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले शुक्रबार र शनिबारमा ३६ वटा अदुवा बोकेका ट्रक भारत गएको जानकारी दिए ।
विषादीका कारण फेरि पनि नेपालको अदुवा भारत निर्यातमा बाधा आउने संभावना औंल्याउँदै प्रांगारिक खेतीलाई प्रवर्द्धन गर्नुपर्ने अदुवा व्यवसायीहरुले जोड दिएका छन् । अदुवा व्यवसायी संघका महासचिव इन्द्र बुढाथोकीले राज्यले प्रांगारिक खेतिमा किसानहरुलाई आकर्षण गराउनुपर्ने बताए ।
गत भदौ १४ गतेदेखि भारतले एकाएक नेपालमा उत्पादित अदुवा आयातमा रोक लगाएको थियो । लगातार ११ दिनसम्म अदुवा निकासी नहुँदा किसानका खेतमै तथा व्यवसायीका गोदाममै अदुवा थन्किएका थिए ।