झापा । कन्काई नदीमा आएको बाढीले शिवसताक्षी–९ नम्बर वडाका दर्जनाै घरहरू उच्च जोखिममा परेका छन्।
पूर्व–पश्चिम राजमार्गको कन्काई पुल उत्तर पश्चिमको एउटा सिङ्गो गाउँ बाढीको जोखिममा छ। त्यसमा पनि नदीकाे डिलमै रहेका
त्यस वडाका ९ वटा घर उच्च जोखिममा परेका छन्। सो गाउमा ७२ घर रहेका छन्। शुक्रबार रातिदेखि परेकाे वर्षाले गर्दा माईखोलामा बाढी आएको थियो ।
बाढीले स्थानीय सरिता थापाको शौचालय बगाएको छ भने एकतले पक्की घर पनि चर्काएको छ। त्यस्तै टहलदास श्रेष्ठको चौपाया बाध्ने ग्वाली पनि बाढीले बगाएको छ।
बाँधलाई बाढीले बगाउनेवित्तिकै त्यहाँका ७२ घर परिवारको उठिबास हुने स्थानिय प्रहरी चौकी माइधारले जनाएको छ। प्रहरीका अनुसार बाढीले योगी नरहरिनाथको मन्दिर पनि संकटमा पारेको छ भने नेवार समुदायको भीमसेन थान मन्दिर पनि उच्च जोखिममा पारेको छ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले बाढीबाट विस्थापित हुनेलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाएको बताए। उनले भने, ‘तर, कहाँ लैजाने भन्नेबारेमा समस्या भएको छ।’