विर्तामोड । सोमबार साँझ निधन भएका साहित्यकार दान खालिङ आफ्नो पार्थिव शरीरलाई बुधबार उनको जन्मथलो भारतको दार्जिलिङमा अन्त्येष्टि गरिने भएको छ । उनले झापा बसाइका क्रममा आफू मरेपछि आफ्नो पार्थिव शरीरलाई मेची नदीमा जलाइदिन आग्रह गर्थे । उनको शरीरबाट निस्केको धुवाँ आधा नेपालतिर र आधा भारततिर जाओस भन्ने उनी चाहन्थे ।
वरिष्ठ साहित्यकार खालिङको ८९ वर्षको उमेरमा निधन भएको हो । विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मेएका खालिङको सोमबार दार्जिलिङमा निधन भएको हो । उनी पछिल्लो समय नसा सम्बन्धी रोगबाट पीडित थिए । सिलिगुडीमा बस्दै आएका भए पनि उनको शारीरिक अस्वस्थतालाई ध्यानमा राखी केही दिन अघि दार्जिलिङ पुर्याइएको थियो । उनको सोमबार बेलुका ४:३० बजे निधन भएको थियो ।
खालिङले आफूलाई कुनै देशको मात्र सीमित नराखी नेपाली बाहुल्य क्षेत्र भारतको दार्जिलिङ र नेपालमा बसोबास गर्ने सबै नेपालीको हुन चाहन्थे । झापाको विर्तामोडमा लामो समय बसाईका क्रममा विभिन्न शिक्षण संस्थाहरुमा शिक्षण पेशा पनि उनले गरे । धुलाबारी क्याम्पस धुलाबारीमा लामो समय उनले अंग्रेजी विषयको अध्यापन पनि गरे ।
उनको जन्म दार्जिलिङको बदमताम चिया कमानमा भएको थियो । पूरा नाम दानियल खालिङ भएका उनले पछि दान खालिङ मात्र लेख्न थालेका थिए । उनले दानियल नाममा नेपालीपन नझल्किएको भन्दै आफ्नो नाम परिवर्तन गरेर दान बनाएका थिए । विश्वेश्वरप्रसाद कोइरालासँग पहिलोपल्ट दार्जिलिङमा भेटेपछि निकै प्रभावित भएका उनी पढाइ त्यत्तिकै छाडेर २००७ सालको आन्दोलनमा बन्दुक बोकेर नेपाल पसेका थिए ।
सात सालको आन्दोलन सफल भएपछि भने उनले बन्दुक बिसाएर कलम समाएका थए । साहित्यकार महानन्द सापकोटाको संगतले साहित्य र शिक्षा क्षेत्रमा उनी सक्रिय भएका थिए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य समेत रहेका थिए ।