
भदाै – २१ । जाजरकाेटकाे दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ ।
जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको पहुँच नभएको बस्तीका हुन् । जिल्लाका अधिकांश बस्ती स्वास्थ्य संस्थाको पहुँचभन्दा निकै टाढा भएका कारण उपचारको अभावमा धेरै शिशु र आमाको मृत्यु हुने गरेको छ ।
स्वास्थ्य संस्था टाढा भएकै कारण नियमित गर्भ परीक्षण गर्न नसकिएको दुर्गम क्षेत्रका महिला बताउँछन् । यहाँका अधिकांश दुर्गम गाउँमा सञ्चारमाध्यमको पहुँच पनि नभएको अवस्था छ । फोन गर्नका लागि घन्टाैँ हिँड्नुपर्ने बाध्यता छ । बिहानै हिँड्दा बेलुका मात्र स्वास्थ्य संस्था पुग्ने अवस्था छ ।
स्वास्थ्य संस्था पुगे पनि औषधि नपाउँदा स्थानीय औषधि पसलकै भर पर्दा निकै तनाव हुने गरेको रग्दा ध्यारगाउँका शेरबहादुर ध्यारले बताएका छन् ।
गम्भीर बिरामीलाई पर्याप्त स्ट्रेचर नहुँदा निगालाबाट निर्माण गरिएको डोको काटेर त्यसैमा बोकी घन्टौँ लगाएर स्वास्थ्य संस्थामा लानुपर्ने बाध्यता रहेको ध्यारले बताए । दुर्गम गाउँमा सञ्चारमाध्यमको पहुँच नहुँदा कुन कार्यक्रम कति बेला हुन्छ केही थाह नहुने गरेको दहका हिमाल घर्तीले बताएका हुन् ।
दुर्गम गाउँमा अहिले पनि देवीदेवता रिसाउने डरले सुत्केरीलाई नौ दिनसम्म गाईभैँसीका गोठमा राख्ने चलनले सुत्केरी र नवजात शिशुको अवस्था नाजुक बन्ने गरेको छ । सुत्केरीलाई दही, दूध, घिउ दिएमा देवीदेवता रिसाउने भन्दै नौ दिनसम्म नदिने र कसैले पनि सुत्केरीलाई नछुने भएका कारण अधिकांश सुत्केरीको अकालमै ज्यान जाने गरेको छ ।