बिर्तामोड- सामाजिक सुरक्षा कोष (SSF) ले आफ्ना योगदानकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न अस्पतालहरूसँग अनलाइन सम्झौता गर्ने क्रममा अब मनमोहन मेमोरियल अस्पताल, बिर्तामोडमा पनि यो सेवा सुरु भएको छ।
यो व्यवस्था लागू भएपछि योगदानकर्ताहरूले उपचार खर्चको ८० प्रतिशत रकम सिधै कोषबाट पाउनेछन्।
नयाँ व्यवस्था अनुसार, योगदानकर्ताहरूले अस्पतालमा उपचार गराउँदा कुल खर्चको २० प्रतिशत मात्रै भुक्तानी गरे पुग्नेछ। बाँकी ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले सिधै अस्पताललाई उपलब्ध गराउनेछ। यसबाट उपचारपछि भुक्तानी दाबी गर्न कोषको कार्यालयमा धाउनु पर्ने झन्झटको अन्त्य हुनेछ।
योजनाहरूमा सहज पहुँच
यो सुविधा ‘उपचार तथा मातृत्व सुरक्षा योजना’ र ‘दुर्घटना र अशक्तता सुरक्षा योजना’ अन्तर्गतका स्वास्थ्य सेवा, औषधि र मातृत्व सेवाहरूमा लागू हुनेछ। यसबाट योगदानकर्ताहरूलाई नियमित उपचार, मातृत्व सेवा, र दुर्घटनापछिको उपचारका लागि सहज हुनेछ।
कोषमा नियमित योगदान गर्ने व्यक्तिहरूले यो सुविधा कोषसँग आबद्ध भएका अस्पतालहरूबाट मात्र प्राप्त गर्न सक्नेछन्।
यदि यी बाहेकका अन्य अस्पतालमा उपचार गराइएमा भने भुक्तानी दाबीका लागि आवश्यक कागजातसहित कोषको कार्यालयमा जानु पर्ने पुरानै व्यवस्था कायम रहनेछ।
