काठमाडौँ,भदाै १९ । हावाबाट बिजुली निकाल्ने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको योजना खारेज भएको छ । हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने वेलायती कम्पनीसँग समन्वयको काम गरिरहेको लगानी बोर्डको कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर हावाबाट बिजुली निकाल्ने प्रस्तावलाई खारेज गरेको जानकारी दिएको हो ।
आइतबार लगानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले गत जेठमै हावाबाट बिजुली निकाल्न लगानी बोर्डमा परेको प्रस्ताव रद्ध गरिएको बताए। ‘त्यो कम्पनीले हावाबाट बिजुली निकाल्न सक्ने देखिएन’ अधिकारीले भने ‘अरु कुनै कम्पनीले नयाँ तरिकाले हावाबाट बिजुली निकाल्ने प्रस्ताव ल्याए सोच्न सकिन्छ ।
लगानी बोर्डले प्रस्तावको पूर्व सम्भाव्यता अध्ययन, खर्च, प्रविधिक पक्षलगायतका बारेमा विस्तृत विवरण पेश गर्न गोर्खा युकेलाई भनेको पनि थियो । तर वेलायती कम्पनीको प्रस्ताव सम्भव नभएको देखिएपछि बोर्डले त्यो परियोजनालाई रद्द गरेको जनायो ।
वेलायती कम्पनीले एक वर्षभित्र तीन सय मेगावाट र तीन वर्षमा तीन हजार मेगावाट विद्युत निकाल्ने जनाएको थियो । वेलायती कम्पनी ‘द गुर्खाज युके’ले हावाबाट बिजुली निकाल्ने प्रस्ताव गरेपछि पूर्व प्रधानमन्त्री ओलीले तीन वर्षभित्र हावाबाट तीन हजार मेगावाट बिजुली निकालिने सार्वजनिक भाषण गरेका थिए।
२०७२ पुस १७ गतेको मन्त्रिपरिषदले बैठकले ‘द गुर्खाज युके लिमिटेड’ले हावाबाट तीन हजार मेगावाट बिजुली निकाल्ने प्रस्तावका बारेमा प्रक्रिया अगाडि बढाउने लगानी बोर्डलाई निर्देशन दिएको थियो।