विर्तामोड । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको ज्यान गएको छ । उनीहरुको घरभित्रै पुरिएर ज्यान गएको हो ।
![]()
घरभित्रै पुरिएर मृत्यु हुनेमा विमला मगर, छोरा मनोज र ललित छन् । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो । उनीहरुको शव अहिले बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए।
ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन्। नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन् ।
पहिराका कारण त्यहाँका दर्जनौँ घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ । पहिराका कारण नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक र गङ्गामाया भट्टराईको घरमा क्षति पुगेको छ ।
भोजपुरको कुलुङ्ग–९ खमारेमा पनि पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण शुक्रबार राति पहिरो जाँदा ५८ वर्षका भरत राई र उनकी श्रीमती ५४ वर्षकी राममती राईको ज्यान गएको हो । प्रहरी र गाउँलेले उनीहरुको शव निकालेका हुन् ।
पहिरोले सदरमुकाम भोजपुरबाट १९ कोष टाढा रहेको कुलुङ–९ खमारेको सिंगो बस्ती नै जोखिमा परेको छ । १२ घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका निरीक्षक राधाप्रसाद पराजुलीले जानकारी दिए ।