काठमाडौ । पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि कसैलाई पनि विशेष पास नदिने भएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी विगतका वर्षमा पासको दुरुपयोग भएको भन्दै यो पटकको तीजमा पासको व्यवस्था हटाइएको जानकारी दिएको हो ।
कोषले अघिल्ला वर्षहरुमा विभिन्न संस्था, कोषका कर्मचारीका आफन्तजन, पत्रकार, नेताका परिवारजन, स्वयंसेवक लगायतलाई करिब ५ हजार पास बाँड्ने गरेको थियो । कोषका सदस्यसचिव गोविन्द टण्डनले एउटा पास देखाएर १० जनासम्म छिर्ने विगतबाट पाठ सिकेर यो पटक पासको व्यवस्था हटाइएको जानकारी दिए । कोषले यसपटक पशुपतिनाथ मन्दिर भित्रको क्षेत्रमा सुरक्षाकर्मी र आफ्ना कर्मचारी मात्र खटाउने तथा स्वयंसेवकहरुलाई मन्दिर बाहिरको क्षेत्रमा मात्र परिचालन गर्ने समेत निर्णय गरेको छ।
कोषले भक्तजनलाई पशुपतिनाथको दर्शनपछि जुन ढोकाबाट छिरेको त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाएको जनाएको छ । यस्तै, कोषले पशुपतिनाथ मन्दिको मुख्य क्षेत्रमा अघिल्ला वर्षमा जस्तो स्पीकर बजाउन नदिने निर्णय पनि गरेको छ। स्पीकरले भीड बढाउने भएकाले मन्दिरको मुख्य क्षेत्रमा स्पीकर राख्न र बजाउन नदिने निर्णय गरिएको पत्रकार सम्मेलनमा सदस्यसचिव टण्डनले जानकारी दिए।