नेपालगञ्ज । नेपालगन्जको धम्बोझी चोकमा बिहीबार राप्रपा सम्बद्ध युवाहरुले राखेको पूर्व राजा स्वर्गीय बीरेद्र शाहको अर्धकदको सालिक प्रहरीले राति हटाएको छ ।
शालिक राखेपछि बिहिबार दिउँसो सो स्थानमा प्रहरीसँग झडप भएको थियो ।
सर्वदलीय बैठकले सालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको हो । ‘झण्डा राख्ने भनेर झुक्याएर सालिक राखियो । त्यसले तनाब उत्पन्न भएपछि सर्वदलीय बैठकले हटाउने निर्णय लिएपछि प्रहरीले झिकेर सुरक्षित ठाउ‘मा राखेको छ’, प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने ।
सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरी तत्कालै हटाउन खोजेको थियो । तर, स्थिति तनावग्रस्त भएपछि हटाइएको थिएन । सालिक पुनस्स्थापना गर्न राप्रपा नेपाल, पूर्व राजावादी र शिव सेना सम्बद्ध युवाहरु बिहानै जुटेका थिए ।
उक्त चोकमा रहेको वीरेन्द्रको पूर्ण कदको सालिक ०६२÷०६३ को जनआन्दोलनताका भत्काइएको थियो । खाली चोकमा कसको सालिक राख्ने भन्नेमा दलहरु विभाजित भएपछि राष्ट्रिय झण्डा गाडिएको थियो । राम्ररी नगाडिएकाले पटक–पटक झण्डा ढलेपछि ‘राष्ट्रवादी युवा’को नाममा बिहीवार झण्डा गाड्ने कार्यक्रम राखेका थिए तर, उनीहरुले स्वर्गीय पूर्वराजाको शालिक नै राखेपछि विवाद भएको थियो । अहिले सो स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ ।