
इलाम,भदौ १५ । एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले अभियुक्तलाई मङ्गलबार सो सजाय सुनाएको हो । बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ ९२० र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२०) बमोजिम आठ वर्ष कैदको सजाय सुनाएको छ भने सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बरसमेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बरबमोजिम तीनवर्ष गरी १६ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
अदालतले राईलाई पीडितका नाममा ७५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ । कसुरदार राईले ती बालिकालाई २०७० साल यता पटक–पटक बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध गतबर्ष फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।