विर्तामोड । तीजको अवसर पारेर रेडियो सनराइज विर्तामोडले झापाकी पत्रकार महिला भीमा शिवाकोटीलाई पुरस्कृत गरेको छ । मंगलबार विर्तामोडमा आयोजित तीज मिलन समारोहमा शिवाकोटीलाई रविन शिवाकोटी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नगद ११ हजार रुपैयाँका साथ दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
उक्त पुरस्कार रेडियो सनसाइजका स्थापनाकालदेखिका स्वर्गीय पत्रकार रविन शिवाकोटीको नाममा स्थापना गरिएको हो । उनको २०६९ सालमा निधन भएको थियो ।
रेडियो सनराइजका अध्यक्ष कुमार भट्टराईका अनुसार तीजको अवसरमा आयोजना गरिएको समारोहमा पत्रकार महिलालाई नै पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिए । पुरस्कृत पत्रकार भीमा शिवाकोटी विर्तामोड झापाबाट प्रशारण हुने कञ्चनजंघा एफएमकी पत्रकार हुन् । उनी २०५९ सालदेखि सो एफएममा कार्यरत छिन् ।
कार्यक्रममा बोल्दै पुरस्कृत पत्रकार शिवाकोटीले तीजको अवसरमा पत्रकार महिलालाई पुरस्कृत गरेकोमा सनराइज एफएमलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘काम गर्नुपर्छ तर फलको आशा गर्नु हुँदैन । आजको दिनमा महिलाले सिक्नुपर्ने कुरा यही हो ।’
उक्त कार्यक्रममा गायिका कोमल वलीले तीजका गीत गाएर महिलाहरुलाई नचाएकी थिइन् ।