पर्सा, भदौ १३ – सशस्त्र वनरक्षक र तस्करबिच पर्सामा आइतबार राति दोहोरो गोली हानाहान भएको छ । पर्साको मधुवनमथवल वन क्षेत्रमा आइतबार राति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो ।
नियमति गस्तीमा रहेको इलाका वन कार्यालय बढनियारको वन रक्षकमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँले बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको टोलीले रूख फँडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करवाट रक्षकलाई नै लक्षित गरी चार राउन्ड गोली प्रहार गरिएको र सोको प्रतिकारमा रक्षकबाट तीन राउन्ड गोली प्रहार भएको बताउनुभयो ।
प्रजिअ घिमिरेका अनुसार, तस्कर र वनरक्षकबिच भएको दोहोरो गोली हानाहानमा कुनै मानवीय क्षति नभएको र वनरक्षकले घटनास्थलबाट फँडानी गरिएका चार थान सालको काँचो गोलाइ, वन फँडानीमा प्रयोग गरिएका दुई थान आरा एवं चार थान साइकल बरामद गरेका छन् । घटनामा संलग्न रहेकाको खोजी कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।
बरामद गरिएको आरा, साइकल र काठलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका वन कार्यालय बढनिहारमा राखिएको प्रहरीले जनाएको छ ।
