भद्रपुर । झापा सदरमुकाम आसपास क्षेत्रका पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित प्रेस क्लव भद्रपुरको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम अाइतबार सम्पन्न भएको छ ।
भद्रपुर ८ स्थित सगरमाथाचोकमा सञ्चालनमा आएको क्लवको कार्यालय उद्घाटन नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले रिवन काटेर गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सिटौलाले विकास निर्माणका काम कुनै एक दलको मात्र नभइ साझा भएकोले सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताएका छन् ।
उनले देशको आर्थिक सम्बृद्धिका लागि पत्रकारले दलीय स्वार्थ त्यागी कलम चलाएर स्थानीय प्रशासन देखि सरकार सम्मलाई खबरदारी गर्नु पर्नेमा पनि जोड दिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सञ्चार क्षेत्रको सक्रियताबाट नै समाज सधैँ अग्रगतितर्फ जाने विचार व्यक्त गरे ।
स्थानीय विकास अधिकारी खेमराज ओझाले सञ्चारकर्मीले सत्य, तथ्य विषयलाई उजागार गर्नसके समाज अझ बलियो हुने विश्वास व्यक्त गरे ।
त्यस्तै भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले पत्रकार लगायत सामाजिक सघंसस्था प्रति नगरपालिकाको हेर्ने दृष्टिकोण सकारात्म भएको उल्लेख गर्दै यहाँका पत्रकारलाई आउदो दिन पनि सक्दो सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा क्लवका संयोजक चिन्तामणि दाहालले निर्वाचित अध्यक्ष गोविन्दचन्द्र क्षेत्री अविर लगाएर पदस्थापन गराउदै क्लवका माइन्युट हस्तान्तरण गरेका थिए । साथै संयोजक दाहालले क्लवका उपाध्यक्ष माया पकुलाव, महासचिव उत्तम नेपाल, सचिव पार्थ मण्डल र सदस्यहरु द्रोण अधिकारी, विरेन्द्र न्यौपाने, राधा खनाल धर्म राईलाई अविर लगाएर पदस्थापन गराए ।
पत्रकार गोपाल गिरीले सञ्चालन गरेको कार्यक्रममा क्लबको औचित्यबारे पत्रकार माधव विद्रोहीले प्रकाश परेका थिए ।
