काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले डा. गोविन्द केसीले उठाएका माग र मुद्दा राम्ररी बुझ्ने बताएका छन् ।
शुक्रबार बिहान डा. गोविन्द केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो पनि मान्यता हो ।’
उनले अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन रहेको धारणा राखे । ‘ तर, तपाईले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधनको प्रयास गर्छु,’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले शिक्षा र स्वास्थ्यमा श्रीलंकाको मोडलबाट आफू प्रभावित भएको उल्लेख गर्दै भने, ‘श्रीलंका कुनै समाजवादी, साम्यवादी मुलुक होइन । तर, पनि शिक्षा, स्वास्थ्यमा राज्यको पूर्ण दायित्वको श्रीलंकाको मोडलबाट म प्रभावित थिएँ ।’
उनले डा. गोविन्द केसीको आन्दोलनले समाजमा नयाँ जागरण ल्याएको र राज्यलाई जागृत गरेको बताए । भेटमा डा. गोविन्द केसीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले पछिल्लो अनसन तोडेको भन्दै मागहरुलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलाई आग्रह गरे ।
डा. केसीले दुरदराजमा सुलभ स्वास्थ्य सेवाको प्रबन्ध, सार्वजनिक संस्थानहरुमा क्षमताका आधारमा नियुक्ति, योग्य विद्यार्थीले सर्वसुलभ चिकित्सा शिक्षाको अवसर, माथेमा आयोगको प्रतिवेदनको कार्यान्वयन, राज्यका जिम्मेवार पदहरुमा रहेका व्यक्तिहरुको जिम्मेवारी बोधका लागि आफ्नो आन्दोलन केन्द्रित रहेको बताए ।