चितवन । नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । २० जनाको घटनास्थमै र एक जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । दुघर्टनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन ।
घाइते भएका १६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । घाइते दुई वर्षिया एक बालिकाको मुग्लिनमा तथा ९ जनाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा र २ जनाको भरतपुरमै रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते ११ जनाको नाम खुलेको छ ।
घाइतेहुनेहरुमा सोयाता गुप्ता, मिली शाह, प्रिन्स शाह, अविनाश चौधरी, सुसन श्री बास्तव, सुराधी गुप्ता, राजन पाण्डे, दीपिका थापा, राजेश गुप्ता, सञ्जय शाह, श्याम न्यौपाने रहेका छन् ।
गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको रात्री बस चितवनको चन्डीभन्ज्याङ गाविस कालीखोलाबाट झण्डै सय मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
यो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा चलेको थियो । बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए । मृतकको सनाखत हुन नसके पनि धेरैजसो यात्रु मुग्लिनबाट पोखरातर्फका भएको केसीले बताए ।
आँबुखैरेनी, दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको केसीले जानकारी दिए । अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । बसका सहचालक गम्भीर घाइते भएका छन् । बिहीबार बेलुकी ६ बजे बस गौरबाट छुटेको केसीले जानकारी दिए ।
बिहान सवा ४ बजे बस त्रिशूलीमा खसेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । कुँवरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा जुटेको छ ।