हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकाले अत्याधुनिक नयाँ कार्यालय भवन निर्माण गर्ने भएको छ। विभिन्न दाताले दिएको एक बीघा ९ कट्ठा जमिनमा गाउँपालिकाले कार्यालय भवन बनाउन लागेको हो।
बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, उपाध्यक्ष डम्बर गिरीलगायत २९ जना जनप्रतिनिधिले संयुक्त रुपमा भवनको शिलान्यास गरे।

गाउँपालिकालाई स्थानीय खर्कमाया साम्सुहाङले १० कट्ठा, सन्तोष माङ्युङले चार कट्ठा, माइतराज राईले एक कट्ठा, तिलप्रसाद सुवेदीले चार कट्ठा र भूपाल लिम्बूले १० कट्ठा गरी एक बिघा नौ कट्ठा जमिन दान दिएका थिए।
हल्दिबारी–५ मा रहेको सोही जमिनमा गाउँपालिकाले कार्यालय भवनको शिलान्यास गरेको हो।
‘द्वार एक, सेवा अनेक’ हुने गरिको भूकम्प प्रतिरोधी कार्यालय भवन बनाउने विषय दोस्रो गाउँसभाको नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको थियो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भने, ‘धनुष पोखरीको पहिचान स्थापित गर्ने ध्येयका साथ धनुषकै आकारमा कार्यालय भवन निर्माणका लागि भवनको सैद्धान्तिक नक्शा पास भएको छ।’
धनुषकै आकारमा भवन निर्माण गर्नका लागि ‘द्वार एक, सेवा अनेक’ हुने गरी भवनको डिपिआर तयार गरिएको गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले बताए ।
ठेकेदार कम्पनीले २०७६ साल चैत मसान्तसम्ममा भवन निर्माण सम्पन्न गर्नेगरी गाउँपालिकासँग सम्झौता गरेको छ।
गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले इमान्दारिताका साथ काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे । कम्पनीका प्रतिनिधि कमल राईले यही वर्षभित्र जसरी पनि भवन निर्माण कार्य सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिका अध्यक्ष लिङ्देनका अनुसार ३ नम्बर वडामा पनि गाउँपालिकालाई १० कट्ठा जमिन दानस्वरुप प्राप्त भएको छ। उक्त जमिनमा वडा कार्यालय भवन बनाउने गाउँपालिकाको योजना छ।