काठमाडौ – उर्जामन्त्री जनार्दनको शर्माको निर्देशनपछि पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकोे महेन्द्र मञ्जिलमा काटिएको बिजुलीको लाइन जोडिएको छ ।
महेन्द्र मञ्जिलबाट तिर्न बाँकी रहेको ३७ लाख ६४ हजार रुपैयाँ सरकारले भुक्तानी दिने खबर आएपछि आइतबार काटिएको विजुलीको लाइन जोडिदिएको नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक गोपालबाबु भट्टराईले जानकारी दिनुभयो ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महसुल भुक्तानी दिइने भन्ने खबर पाएपछि लाइन जडान गरेका हौं, पत्र कार्यकारी निर्देशकसँग होला ? महसुल भुक्तानी गर्ने प्रतिवद्धता आएपछि जोडिदियौं’ ग्राहक तथा निर्देशनालयका प्रमुख समेत रहेका उप कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो । लाइन जोडिएको प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले बतानुभयो ।
गणतन्त्र घोषणापछि पूर्वराजपरिवार नागार्जुन र निर्मल निवासमा सरे पनि पूर्वमुमा बडामहारानी रत्नलाई भने आजीवन महेन्द्र मञ्जिलमा बस्न दिने सरकारले निर्णय गरेको थियो । त्यस यता पूर्वमुमा बडामहारानीले विद्युत् महसुल नतिर्दा ४७ लाख ६४ हजार पुगेको हो ।