काठमाडौं । नारायणहिटीस्थित पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह बसिरहेको महेन्द्र मञ्जिलको विद्युत लाइन काटिएको छ ।
विद्युत महसुल नतिर्ने ठूला ग्राहकहरुको विजुलीको लाइन काट्न उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले निर्देशन दिएपछि महेन्द्र मञ्जिलको लाईन पनि काटिएको हो ।

उर्जामन्त्रीको यस्तो कदमलाई अधिकांशले प्रसंसा नै गरेका छन् । केहीले भने रत्नको निवासको लाइन काटेर इतिहासको अवमूल्यन गरिएको भन्दै आलोचना पनि गरेका छन् ।
यसैक्रममा हास्य कलाकार दिपकराज गिरीले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । राजनीतिक विषयमा सामाजिक सञ्जालमा केही न केही लेखिरहने दिपकले सोमबार ट्वीटरमा लेखेका छन्,
‘पूर्वरानी रत्नको घरको विजुलीको लाइन एक्कासी काटियो । मन्त्रीलाई सोधियो, किन ?
उनले भने, ‘हिरा, रत्न जस्ता कुरा आफैँ चम्किन्छन् किन चाहियो विजुली ?’
महेन्द्र मञ्जिलले झण्डै ३७ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।