विर्तामोड । झापामा मापदण्ड विपरीत भेटिएका अधिकाशं मेडिकल, ल्याव र क्लिनकहरुले अझै मापदण्डमा रहेर सेवा सञ्चालन नगरेको सरकारी अनुगमनका क्रममा पाइएको छ ।
सरकारी अधिकारीहरुले झापाका मेडिकल क्षेत्रमा व्यापक अनुगमन गरिएको बताएपनि अधिकाशं स्वास्थ्य संस्थाहरुले यस अघिका अनुगमन टोलीले दिएको निर्देशन अटेर गरेर विरामीको स्वास्थ्यमाथि खेलबाढ गरिरहेको पाइएको हो ।
झापामा स्वास्थ्य क्षेत्रमा विकृती बढेको कारण पूर्वका सर्वसाधारणले हैरानी बेहोरेको समाचार बाहिरिए लगत्तै स्थानीय प्रशासन, घरेलु, जिल्ला जनस्वास्थ्य कार्यालय र औषधी व्यवस्था विभागले व्यापक अनुगमन गरेको थियो ।
त्यसबेला बिर्तामोडमा सञ्चालित स्वास्थ्य संस्थामा गरिएको अनुगमनमा कुनैपनि मेडिकल, ल्याव, अस्पताल मापदण्डमा भेटिएको थिएन । बिर्तामोड सञ्चालित कञ्चनजंगा हस्पिटल, बजरंङ मेडिकल एण्ड डाईग्नोष्टिक सेन्टर, साथीको मेडिको एण्ड डाईग्नोष्टिक सेन्टर, हिमालय मेडिसिन सेन्टर लगायतका स्वास्थ्य संस्था स्वास्थ्य सँग सम्बन्धित ऐन, कानुन र निर्देशिकाअनुसार मापदण्डमा नभेटिएको पाइएको थियो ।
शनिबार जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गरेको छड्के अनुगमनमा पहिलाको निर्देशन अटेर गरेको र अझै लापरबाही भइरहेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामप्रसाद शाहले बताए ।
अनुगमन टोलीले बिर्तामोडमा सञ्चालित हिमालय, बजरंग, साथी, आश्विन मोडिकल सेन्टर र अपूर्व फार्मेसीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ल्यावहरु अझै मापदण्डमा नल्याई सञ्चालन गरेको, डाक्टरहरुले बिरामीलाई घण्टौं कुराएको, विरामीलाई असुविधा भइरहेको लगायत भेटिएको थियो ।
टोलीले अनुगमन गरिएका ल्याब र मेडिकलहरु अझै मापदण्ड बाहिर रहेकाले पुनः सुधार गर्न निर्देशन दिएको र सुधार नभए नविकरण रोक्का गर्ने समेत चेतावनी दिएको छ ।